काठमाडौँ।
नेपाल दूरसञ्चार प्राधिकरणले अरूका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने बाध्यकारी व्यवस्था गर्ने तयारी छ । नेपाल दूरसञ्चार प्राधिकरणले जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्नु पर्ने व्यवस्था ल्याउन लागेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन् ।
खनालका अनुसार जारी भएका सबै सिम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाइएको र आगामी केही दिनमै हामी मोबाइल सेवा प्रदायकमार्फत सबै प्रयोगकर्तालाई अरूका नामको सिमकार्ड प्रयोग गरिरहेको भए आफ्ना नाममा दर्ता गर्न म्यासेजमार्फत खबर गर्ने जानकारी गराएका छन।
तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने निर्णय भने भइनसकेको तथा यसबारे पछि निर्णय गर्ने कुरा पनि अध्यक्ष खनालले बताएका छन् ।
सरकारले नागरिक अधिकार नामक एप ल्याउन लागेको र सो को कार्यान्वयनका लागि सिमकार्ड सम्बन्धित प्रयोगकर्ताकै नाममा दर्ता गराउने अभियान सुरु गर्न लागिएको हो । प्राधिकरणका अनुसार नागरिक अधिकार एपमार्फत फोन नम्बरलाई नै नागरिकको पहिचान बनाइनेछ ।
सरकारले यस आर्थिक वर्षभित्रनै नागरिक मोबाइल एप सार्वजनिक गर्न लागेको हो । यो एपमा नागरिकले आफ्नो फोन नम्बरमार्फत खाता खोल्न सक्छन् । नागरिकले विभिन्न कार्यालयको सेवाका लागि एपमार्फत आवेदन दिन सक्नेछन् । यो एप प्रधानमन्त्री कार्यालयबाट कार्यान्वयन गर्ने जानकारी प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले दिएका छन।