असलम खान
भैरहवा । तराईको हुम्ला एवं पिछडीएको ग्रामीण क्षेत्र रुपन्देहीको मर्चवार क्षेत्रमा अनलाइन घटना दर्ताको कार्य सुरु भएको छ ।
मर्चवार क्षेत्रका कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिका मध्ये पहिलो पटक सम्मरीमाई गाउँपालिकाले बुधवारबाट अनलाइन घटना दर्ताको काम थालेको छ ।
सम्मरीमाई गाउँपालिकाले वडा नं. ५ रोईनिहवा वडा कार्यालयबाट सेवाग्राहीलाई अनलाइन मार्फत सेवा दिन थालेको हो ।
व्यक्तिगत घटनाहरु जन्म, विवाह, मृत्यु, वसाई–सराईको अनलाईन दर्ता गर्ने कार्य भएको छ ।
सम्मरीमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज भट्टराईले अनलाइन घटना दर्ता मर्चवारमा सबभन्दा पहिला सम्मरीमाईले सुरु गरेको दावी गर्नुभयो ।
विद्युत र नेटको अभावको समस्या एवं विभिन्न चुनौतीलाई सामना गर्दै अनलाईन सेवा सुरु गर्न थालेकोमा प्रमुख भट्टराईले खुशी व्यक्त गरेका थिए ।
उक्त सेवा शुभारम्भ कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य अष्टभुजा पाठकले मर्चवार क्षेत्रमा विद्युत र नेटको समस्या औल्याउदैं आजको बैज्ञानिक सूचना प्रविधीको युगमा मर्चवारलाई विच्छेद गर्नु न्यायसंगत नभएको बताउदैं आफूले यसका वारेमा सदनमा समेत बारम्वार आवाज उठाएर ततकालै व्यवस्थापन गर्न अग्रह गरेको बताए ।
सम्मरीमाई गाउँपालिका प्रमुख जितेन्द्रनाथ शुक्ला (बब्लु)ले अनलाई सेवा सुचारु गर्ने कार्यमा दिलो ज्यानले खटेका सबै कर्मचारीहरुलाई धन्यवाद दिएका थिए ।
अब सम्मरीमाई गाउँपालिकालाई रुपन्देहीकै नमुना गाउँपालिका बनाउने अभियानमा अनलाईन सेवा कोषे ढुंगा बनेको अध्यक्ष बब्लुले वताए ।
उनले सबै वडाका सचिवहरुलाई छिटो अनलाइन घटना दर्ता कार्य सुरु गर्न आग्रह गरे ।
कर्मचारीहरुको सहि कार्य र इमान्दारिताले गाउपालिकाको समग्र विकास हुने र जिल्लामा नमुना बनाउन सकिने उनले बताए ।
उक्त कार्यक्रमका ५ नं. वडा अध्यक्ष श्रवणकुमार यादवको अध्यक्षता र प्रमुख अतिथि विधायक अष्टभुजा पाठक, सम्मरीमाई गाउँ पालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) प्रमुख प्रशासकिय अधिकृत टेकराज भट्टराई, पालिकाका सुचना प्राविधिक प्रमोद गौतम, वडा अध्यक्ष नेवास अलि दर्जी, शिवकुमार यादवलगायतको सहभागिता रहेको थियो ।